Press Release regarding the celebration of 69th Democracy Day, 2075

प्रेस विज्ञप्ति

६९ औं प्रजातन्त्र दिवस-२०७५ को उपलक्ष्यमा नेपाली राजदूतावास, ब्रसेल्सद्वारा आज मिति २०७५ फागुन ०७ गते मंगलवार (१९ फेब्रुवरी, २०१९) का दिन राजदूतावास (210 Avenue Brugmann, 1050 Brussels) मा एक शुभ-कामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा गैर आवासीय नेपाली संघका पदाधिकारीहरु लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरु तथा बेनेलक्समा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय
सहभागिता रहेको थियो ।

राजदूतावासका मिनिष्टर काउन्सेलर श्री सुधिर भट्टराईले उपस्थित अतिथीहरुलाई स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बेनेलक्सका लागि नेपालका राजदूत महामहिम श्री लोक बहादुर थापाले प्रजातन्त्रको लागि शाहदत प्राप्त गर्ने शहीदहरुप्रति श्रर्द्धाञ्जली अर्पण गर्दै उक्त दिवसको अवसरमा नेपालमा स्थिरता, सुशासन, समृद्धि र विकासको शुभकामना ब्यक्त गर्नुभएको थियो । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा विदेशमा रहेका नेपालीहरूको पनि सहयोग र सहकार्यको अपरिहार्यता रहेको उल्लेख गर्दै प्रजातन्त्रलाई दिगो बनाउन वा लोकतन्त्रको जग बलियो बनाउन राजनीतिक स्थायीत्वसंगै आर्थिक तथा सामाजिक विकासको गतिलाई तिब्र पार्नु पर्ने र समृद्धितर्फको हाम्रो यात्रालाइ निरन्तर अगाडि बढाउनुपर्ने कुरामा महामहिम थापाले जोड दिनुभयो । महामहिम थापाले प्रजातन्त्रको महत्व स्पष्ट पार्दै त्यसको स्थायित्व र दिगोपनका लागि ब्यापार, लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र सांस्कृतिक आदानप्रदानको माध्यमबाट नेपालको आर्थिक समृद्धि र सामाजिक विकासमा योगदान दिन बेनेलक्सका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

सो अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय संयोजन समिति, युरोप संयोजक श्री शिव बरूवालले नेपालमा प्रजातन्त्रको स्थापनाको लागि बलिदान गर्नुहुने शहीदहरुप्रति श्रर्द्धाञ्जली ब्यक्त गर्दै नेपाल प्रजातान्त्रिकरण र स्थायित्वतर्फ अगाडि बढिरहेको सन्दर्भमा ब्यापार, लगानी,पर्यटन प्रवर्द्धन र प्रविधि हस्तान्तरणको माध्यमबाट नेपालको आर्थिक समृद्धि सम्भव हुने र त्यसका लागि गैर आवासीय नेपाली संघले योगदान दिन प्रयास गर्ने बताउनुभयो । त्यस्तै, गैर आवासीय नेपाली संघ, लक्जमवर्गका अध्यक्ष नारायण गुरूङ र गैर आवासीय नेपाली संघ,बेल्जियमका वरिष्ठ उपाध्यक्ष श्री कमल पन्थीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुभ-कामना आदानप्रदान कार्यक्रमको आयोजना गरेकोमा दूतावासलाई धन्यवाद दिंदै नेपालमा प्रजातन्त्रको विकास र सुशासनका लागि आ- आफ्नो क्षेत्रबाट सबैले योगदान गर्नुपर्ने विचार ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवातमा नेपालको राष्ट्रिय गान बजाईएको थियो भने त्यसको लगत्तै देशमा प्रजातन्त्रको लागि आफ्नो प्राण आहुती दिने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुको सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

नेपाली राजदूतावास, ब्रसेल्स ।
२०७५ फागुन ८