अनलाइन सेवा पोर्टल
राजदूतावासका सेवाहरू अनलाइन माध्यमबाट प्राप्त गर्नुहोस्
नेपाली नागरिक तथा अन्य सेवाग्राहीहरूलाई राजदूतावासबाट प्रदान गरिने कन्सुलर, राहदानीको स्थिति सम्बन्धी जानकारी तथा अन्य सेवाहरू सहज, सरल, प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री ढङ्गले उपलब्ध गराउने उद्देश्यले नेपाली राजदूतावास, ब्रसेल्सले अनलाइन सेवा पोर्टल सञ्चालनमा ल्याएको छ।
यस अनलाइन पोर्टलमार्फत राजदूतावासबाट प्रदान गरिने विभिन्न सेवाहरू, सेवा प्राप्त गर्ने प्रक्रिया, आवेदन पेश गर्ने व्यवस्था, आवश्यक कागजात अपलोड गर्ने सुविधा, आवेदनको स्थिति अनुगमन तथा सेवासम्बन्धी जानकारी एउटै डिजिटल माध्यमबाट उपलब्ध गराइएको छ। यसले राजदूतावासमा अनावश्यक रूपमा उपस्थित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्नुका साथै सेवा प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेको छ।
अनलाइन सेवा पोर्टल
https://bel.nepalembassy.gov.np/
पोर्टलमार्फत उपलब्ध सेवाहरू
नेपाली नागरिकहरूले राजदूतावासबाट प्रदान गरिने विभिन्न सेवाहरूका लागि अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। उपलब्ध सेवाहरूमा निम्न सेवाहरू समावेश छन्:
-
कागजात प्रमाणीकरण (Attestation)
-
सिफारिस तथा प्रमाणपत्रसम्बन्धी सेवाहरू
-
अधिकृत वारेसनामा (Power of Attorney)
-
अस्थायी जन्म प्रमाणपत्र
-
राहदानीसम्बन्धी जानकारी तथा सेवाहरू
-
अन्य कन्सुलर सेवाहरू
विदेशी नागरिकहरूले समेत राजदूतावासबाट प्रदान गरिने सम्बन्धित सेवाहरूका लागि अनलाइन माध्यमबाट सेवा अनुरोध तथा आवश्यकतानुसार भेटघाटको समय (Appointment) अनुरोध गर्न सक्नेछन्। यसमा पर्यटक भिसासम्बन्धी सेवाहरू समेत समावेश छन्।
अनलाइन सेवा पोर्टलमार्फत गर्न सकिने कार्यहरू
यस अनलाइन सेवा पोर्टलमार्फत सेवाग्राहीहरूले निम्न कार्यहरू गर्न सक्नेछन्:
-
अनलाइन खाता दर्ता गरी राजदूतावासका सेवाहरूमा पहुँच प्राप्त गर्न सक्ने।
-
विभिन्न कन्सुलर सेवाहरूका लागि आवेदन पेश गर्न सक्ने।
-
आवश्यक सहायक कागजातहरू अपलोड गर्न सक्ने।
-
पेश गरिएका आवेदनहरूको स्थिति जाँच गर्न सक्ने।
-
आवश्यकतानुसार सम्पन्न भएका कागजातहरू पोर्टल वा इमेलमार्फत प्राप्त गर्न सक्ने।
-
राजदूतावासमा भौतिक रूपमा उपस्थित हुनुपर्ने सेवाहरूका लागि भेटघाटको समय अनुरोध गर्न सक्ने।
-
प्रायः सोधिने प्रश्नहरू (FAQs), राहदानीको आवेदन स्थिति सम्बन्धी जानकारी, राजदूतावासको कार्यतालिका तथा अन्य सेवासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने।
अनलाइन सेवा प्राप्त गर्ने प्रक्रिया
१. खाता दर्ता गर्नुहोस्
अनलाइन सेवा पोर्टलमा प्रवेश गरी आफ्नो खाता दर्ता गर्नुहोस्। एकपटक खाता दर्ता गरेपछि सोही खातामार्फत राजदूतावासबाट उपलब्ध विभिन्न सेवाहरूका लागि आवेदन दिन सकिनेछ। प्रत्येक सेवाका लागि छुट्टाछुट्टै खाता दर्ता गर्नुपर्ने छैन।
२. आवश्यक सेवा छनोट गर्नुहोस्
आफ्नो खातामा लगइन गरी आफूलाई आवश्यक पर्ने सेवा छनोट गर्नुहोस्। सम्बन्धित सेवाका निर्देशनहरू, योग्यता तथा आवश्यक कागजातहरूको सूची ध्यानपूर्वक अध्ययन गर्नुहोस्।
३. आवेदन तथा आवश्यक कागजात पेश गर्नुहोस्
आवेदन फाराममा आवश्यक विवरणहरू भर्नुहोस् र सम्बन्धित सेवाका लागि आवश्यक कागजातहरू पोर्टलमार्फत अपलोड गर्नुहोस्।
४. आवेदनको स्थिति बुझ्नुहोस्
आफ्नो अनलाइन खातामार्फत पेश गरिएको आवेदनको स्थिति बुझ्नुहोस् । थप जानकारी वा कागजात आवश्यक भएमा राजदूतावासबाट दिइएका निर्देशनहरू पालना गर्नुहोस्।
५. सेवा प्राप्त गर्नुहोस्
सम्बन्धित सेवाको प्रकृतिअनुसार सम्पन्न भएका कागजातहरू अनलाइन पोर्टल वा इमेलमार्फत उपलब्ध गराइनेछ। राजदूतावासमा भौतिक रूपमा उपस्थित हुनुपर्ने सेवाहरूका लागि पोर्टलमार्फत भेटघाटको समय अनुरोध गर्न सकिनेछ।
पर्यटक भिसाका लागि आवेदन दिने विदेशी नागरिकहरूका लागि महत्त्वपूर्ण जानकारी
नेपाल भ्रमणका लागि पर्यटक भिसा आवेदन गर्ने विदेशी नागरिकहरूले राजदूतावासको अनलाइन सेवा पोर्टलमार्फत सम्बन्धित सेवा अनुरोध पेश गर्नुअघि नेपाल अध्यागमन विभागको आधिकारिक अनलाइन भिसा आवेदन प्रणाली (NepaliPort) मार्फत भिसा आवेदन फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ।
नेपाल अध्यागमन विभागको आधिकारिक भिसा आवेदन पोर्टल
राजदूतावासमा भौतिक उपस्थितिसम्बन्धी व्यवस्था
यद्यपि अधिकांश आवेदन प्रक्रियाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिन्छ, तथापि लागू कानून, नियम तथा प्रक्रियागत आवश्यकताअनुसार केही सेवाहरूका लागि सेवाग्राहीको राजदूतावासमा भौतिक उपस्थिति आवश्यक हुन सक्नेछ। यस्तो उपस्थिति पहिचान तथा कागजात प्रमाणीकरण, हस्ताक्षर वा अन्य आवश्यक औपचारिकताका लागि आवश्यक हुन सक्छ।
सेवाग्राहीहरूले आफूले छनोट गरेको सेवासँग सम्बन्धित अनलाइन पोर्टलमा उपलब्ध निर्देशनहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ।
पोर्टल प्रयोग गर्न सक्ने सेवाग्राहीहरू
यो अनलाइन सेवा पोर्टल बेल्जियम, नेदरल्यान्ड्स तथा लक्जेम्बर्गमा बसोबास गर्ने नेपाली नागरिकहरूका साथै नेपाली राजदूतावास, ब्रसेल्सबाट सम्बन्धित सेवा प्राप्त गर्न योग्य विदेशी नागरिक तथा अन्य सेवाग्राहीहरूका लागि उपलब्ध छ।
राजदूतावासबाट सेवा प्राप्त गर्न इच्छुक सबै सेवाग्राहीहरूलाई अनलाइन सेवा पोर्टलमा खाता दर्ता गरी उपलब्ध सेवाहरूको सुविधाजनक तथा प्रभावकारी रूपमा उपयोग गर्न अनुरोध गरिन्छ।
अनलाइन सेवा पोर्टल: https://bel.nepalembassy.gov.np/