प्रेस विज्ञप्ति: ब्रसेल्सस्थित नेपाली राजराजदूतावासद्वारा पहिलोपटक सेवा प्रवाहका लागि अनलाइन पोर्टल सञ्चालन

प्रेस विज्ञप्ति

ब्रसेल्सस्थित नेपाली राजराजदूतावासद्वारा पहिलोपटक सेवा प्रवाहका लागि अनलाइन पोर्टल सञ्चालन

ब्रसेल्सस्थित नेपाली राजराजदूतावासले राजदूतावासबाट प्रदान गरिने सेवाहरूलाई थप सहज, सरल, प्रभावकारी, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले आफ्नै पहल र प्रयासमा विकसित नयाँ अनलाइन सेवा पोर्टल आजदेखि सञ्चालनमा ल्याएको छ। राजदूतावासले पहिलोपटक यस प्रकारको अनलाइन सेवा पोर्टल सञ्चालनमा ल्याएको हो। उक्त पोर्टल https://bel.nepalembassy.gov.np लिंक मार्फत उपलब्ध छ।

यो पहल नेपाल सरकारको डिजिटल रूपान्तरण अभियान तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि डिजिटल शासन प्रणालीको विकास र प्रवर्द्धन गर्ने सरकारको प्राथमिकताअनुरूप रहेको छ। राजदूतावासले प्रचलनमा ल्याएको उल्लेखित डिजिटल सेवा प्लेटफर्म विकास गरी सञ्चालनमा ल्याउनु सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, प्रशासनिक प्रक्रियालाई सरल बनाउने तथा सेवाग्राहीको पहुँच र सुविधालाई अभिवृद्धि गर्ने दिशामा एक महत्वपूर्ण कदम हो।

नवनिर्मित पोर्टलमार्फत नेपाली नागरिकहरूले राजदूतावासबाट प्रदान गरिने विभिन्न कन्सुलर, राहदानी तथा अन्य सेवाहरूका लागि अनलाइन आवेदन गर्न सक्नेछन्। पोर्टलमा कागजात प्रमाणीकरण, सिफारिस तथा प्रमाणपत्र जारी गर्न अनुरोध, अधिकृत वारेसनामा, अस्थायी जन्मदर्ता प्रमाणपत्र लगायत राजदूतावासबाट प्रदान गरिने विभिन्न सेवाहरू समावेश गरिएको छ। सेवाग्राहीहरूले सम्बन्धित सेवाका लागि अनलाइन आवेदन तथा आवश्यक कागजातहरू पेश गर्न, आफ्नो आवेदनको स्थिति जानकारी प्राप्त गर्न तथा अनुरोध गरिएका सेवाअनुसार तयार भएका कागजातहरू अनलाइन वा इमेलमार्फत प्राप्त गर्न सक्नेछन्। साथै, राजदूतावासमा भौतिक रूपमा उपस्थित हुनुपर्ने सेवाहरूका लागि अनलाइन माध्यमबाट समय लिन अनुरोध गर्न सकिने व्यवस्था पनि पोर्टलमा रहेको छ।

त्यसैगरी, विदेशी नागरिकहरूले पनि पोर्टलमार्फत राजदूतावासका सम्बन्धित सेवाहरूका लागि आवश्यक समय लिन अनुरोध गर्न सक्नेछन्। पर्यटक भिसाका लागि आवेदन गर्ने विदेशी नागरिकहरूले भिसा आवेदनसम्बन्धी अनुरोध राजदूतावासको अनलाइन पोर्टलमार्फत पेश गर्नुअघि नेपाल सरकार, अध्यागमन विभागको आधिकारिक NepaliPort प्रणालीमार्फत भिसा आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ। सेवाग्राहीहरूले पोर्टलमार्फत आफ्नो सेवा अनुरोधको स्थिति समेत अनलाइन जानकारी प्राप्त गर्न सक्नेछन्।

यसका अतिरिक्त, पोर्टलमा राजदूतावासबाट प्रदान गरिने सेवासम्बन्धी प्रायः सोधिने प्रश्नहरू (FAQs), राहदानी आवेदनको स्थिति सम्बन्धी जानकारी, राजदूतावासको कार्य तालिका तथा अन्य आवश्यक जानकारीहरू समेत उपलब्ध गराइएको छ। आवेदन प्रक्रिया, आवश्यक कागजात पेश गर्ने व्यवस्था, आवेदनको स्थिति जानकारी तथा सेवासम्बन्धी विवरणलाई एउटै डिजिटल प्लेटफर्ममा समेटिएको यस पोर्टलले सेवाग्राहीको प्रक्रियागत झन्झट कम गर्न, राजदूतावासमा अनावश्यक भौतिक उपस्थितिको आवश्यकता न्यूनीकरण गर्न तथा सेवा प्रवाहमा पारदर्शिता र सहजता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पोर्टलमार्फत अधिकांश प्रक्रियाहरू अनलाइन उपलब्ध गराउने व्यवस्था गरिएको भए तापनि नेपाल सरकारका प्रचलित नियम तथा प्रक्रियाअनुसार पहिचान तथा कागजातको प्रमाणीकरण वा अन्य प्रक्रियागत आवश्यकताका लागि केही सेवाहरूमा सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक हुन सक्नेछ। सेवाग्राहीलाई पोर्टलमा सम्बन्धित सेवाका लागि उल्लेख गरिएका निर्देशन तथा सुझाबहरु पालना गर्न अनुरोध गरिन्छ।

यस राजराजदूतावास बेल्जियम, नेदरल्यान्ड्स तथा लक्जेम्बर्गमा बसोबास गर्ने नेपाली नागरिक तथा अन्य सेवाग्राहीलाई नवनिर्मित पोर्टलमा यथाशीघ्र दर्ता गरी आफ्नो खातालाई राजदूतावासका विभिन्न सेवाहरू प्राप्त गर्न प्रयोग गर्न अनुरोध गर्दछ। एकपटक दर्ता भएपश्चात राजदूतावासबाट प्राप्त हुने विभिन्न सेवाका लागि पुनः दर्ता गर्नुनपर्ने व्यवस्था गरिएको छ।

ब्रसेल्सस्थित नेपाली राजराजदूतावासले आफ्नै पहलमा तथा उपलब्ध सीमित स्रोतसाधनको उपयोग गरी अनलाइन सेवा पोर्टल विकास र सञ्चालनमा ल्याएको यस पहललाई कन्सुलर सेवा प्रवाहको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणतर्फको एक महत्वपूर्ण कदमका रूपमा लिएको छ। सार्वजनिक सेवा प्रवाहलाई थप सहज, प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ राजदूतावासले उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै डिजिटल प्रविधिको अवलम्बन तथा नवीन समाधानमार्फत सेवा प्रवाहमा सुधार गर्ने प्रयासलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ।

अनलाइन सेवा पोर्टल: https://bel.nepalembassy.gov.np

 

२० नोभेम्बर २०२६

नेपाली राजराजदूतावास

ब्रसेल्स, बेल्जियम