बेल्जियमस्थित नेपाली संघसंस्थासँगको अन्तर्क्रिया कार्यक्रम

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, ब्रसेल्सद्वारा बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग आज दूतावास परिसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो। दूतावासले नेपाली संघसंस्थाहरूसँग गत वर्षदेखि आयोजना गर्दै आएको छलफल कार्यक्रमको यो दोस्रो श्रृङ्खलाको हो। कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै महामहिम राजदूत श्री सेवा लम्सालज्यूले बेल्जियममा नेपाली समुदायको सशक्त उपस्थितिलाई नेपालको एक महत्त्वपूर्ण आर्थिक, सामाजिक सार्मथ्य तथा पूँजीको रूपमा उल्लेख गर्नुभयो। उहाँले नेपाली डायस्पोराको ज्ञान, सीप, अनुभव, पूँजी तथा सञ्जाललाई नेपाल र नेपालीको राष्ट्रिय हित, आर्थिक विकास तथा समृद्धिको प्रवर्द्धनमा प्रभावकारी रूपमा परिचालन गर्न सकिने सम्भावना बारे उल्लेख गर्नुभयो। यसका लागि राजदूतावास र नेपाली संघसंस्थाबीच नियमित संवाद, समन्वय र सहकार्यलाई थप सुदृढ गर्न आवश्यक रहेको जोड दिँदै आगामी दिनमा पनि नेपाली संघसंस्थाहरूसँग नियमित रूपमा अन्तर्क्रिया तथा सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली राजदूतावास तथा नेपाली संघसंस्थाबीचको सहकार्यमा सञ्चालन गर्न सकिने विभिन्न कार्यक्रम तथा गतिविधिहरू, बेल्जियमस्थित नेपाली व्यवसायी तथा संघसंस्थाको सहभागितामा नेपालमा वैदेशिक लगानी प्रवर्द्धन तथा विस्तार गर्न सकिने सम्भावित उपायहरू, बेल्जियमको श्रम बजारमा नेपाली जनशक्तिको पहुँच तथा सहभागिता विस्तार गर्न आवश्यक पहलहरू, चालु आर्थिक वर्ष २०८३/८४ मा सम्बन्धित संघसंस्थाहरूले नेपाल तथा बेल्जियममा आयोजना गर्ने प्रस्तावित वार्षिक कार्यक्रमहरू तथा राजदूतावासका सेवा प्रवाह एवं कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सकिने उपायहरूसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

महामहिम राजदूतज्यूले छलफलकाक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै नेपाल र बेल्जियमबीचको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन र विस्तार गर्न संघसंस्थाहरूसँग निकट सहकार्य गर्दै जाने कुरामा जोड दिनुभयो।राजदूतावासका भावी योजना तथा कार्यक्रमहरूको बारेमा संक्षिप्त रूपमा प्रकाश पार्दै उहाँले युरोपेली संघ लगायत नेपाल र बेल्जियमबीचको सम्बन्धलाई थप सुदृढ बनाउन निजी क्षेत्र, संघसंस्था र दूतावासबीचको सहकार्यलाई घनीभूत बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो। साथै उहाँले सहभागी सबै संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै, प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने र भविष्यमा समेत यस्ता अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गर्दै नेपाली संघसंस्था तथा समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाली राजदूतावास, ब्रसेल्स

2083/04/25