प्रेस विज्ञप्तिः आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती कार्यक्रम

प्रेस विज्ञप्तिः आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती कार्यक्रम

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, ब्रसेल्स र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको संयुक्त आयोजनामा प्रवासमा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आज राजदूतावास परिसरमा आदिकवि भानुभक्त आचार्यको 213 औँ जन्मजयन्ती (भानु जयन्ती) कार्यक्रम नेपाली समुदायको उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रमको सुरुवातमा महामहिम राजदूत श्री सेवा लम्साल तथा अनेसास का अध्यक्ष श्री लोकनाथ शर्माले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गर्नुभई भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभयो। तत्पश्चात राष्ट्रिय गानमा सबैजना सारिक भई कार्यक्रमको शुभारम्भ भयो।

समारोहलाई सम्बोधन गर्नुहुँदै महामहिम राजदूतज्यूले सम्पूर्ण आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै नेपाली भाषा, साहित्य र सांस्कृतिक भावनात्मक एकतामा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो। उहाँले भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्दै उहाँका श्रृजनाहरूले दिएको सन्देश र जीवनदर्शनको सान्दर्भिकताबारे उल्लेख गर्नुभयो।साथै आफ्नो मन्तवयमा उहाँले यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता सुदृढ बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताउनुभयो।

तत्पश्चात् अनेसासका संस्थापक उपाध्यक्ष श्री बिमल गिरीले आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्नुभयो। कार्यक्रमको दोस्रो सत्रमा इच्छुक सहभागीहरूले देशप्रेम, प्रवासी जीवनका भोगाइ र समसामयिक विषयमा आधारित आफ्ना कविता, गजल तथा अन्य साहित्यिक सिर्जनाहरू वाचन गरेर कार्यक्रमलाई अझ रोचक र जीवन्त बनाउनुभयो। श्री लोकनाथ शर्मा, श्री बिमल गिरी, श्री ब्रम्हदत्त वाग्ले, श्री सन्तोष न्यौपाने, श्री अच्युत ढकाल, श्री ईश्वरी शर्मा, श्री लीलाधर पन्त, श्री कान्ती अधिकारी, श्री श्रृजना कार्की थापा, श्री जमुना गैरे बास्तोला,  श्री ओम शर्मा,  श्री भीम सुबेदी,  श्री हरि श्रेष्ठ र श्री ऋचा भट्टराईले  कार्यक्रममा आफ्ना लेख/रचना तथा भानुभक्तका श्रृजना वाचन गर्नुभएको थियो।

कार्यक्रमको औपचारिक समापन गर्ने क्रममा अनेसासका अध्यक्षज्यूले कार्यक्रम सफल पार्न महत्वपूर्ण सहयोग पुर्याउने राजदूतावास परिवार लगायत उपस्थित नेपाली समुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले सहभागीहरूमाझ आफ्नो कविता पनि वाचन गरेर सुनाउनुभयो।

उक्त कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, पत्रकारहरू लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो।कार्यक्रमको अन्त्यमा उपस्थितहरूको लागि जलपानको व्यवस्था गरिएको थियो।

 

नेपाली राजदूतावास, ब्रसेल्स

2083/03/29